Wednesday, December 21, 2016

पूर्वराजा ज्ञानेन्द्रले भने, 'जनता एकपटक फेरी उठ्ने बेला आयो' !

काठमाडौँ, ६ पुस, पूर्वराजा ज्ञानेन्द्र शाहले देश रक्षाको लागि नेपाली जनता फेरी एकपटक उठ्ने बेला आएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्र बचाउन, इतिहासले दिएको जिम्मेवारी पुरा गर्न र देशको अस्तित्व रक्षा गरी आफ्ना सन्ततीलाई सुम्पन जाग्नु परेको बताएका हुन् । विज्ञप्तिमा उनले भनेका छन्, 'अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ ।' उनले अगाडि भनेका छन्, 'राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।' पूर्वराजा ज्ञानेन्द्रले दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको पनि बताएका छन् । उनले घुमाउरो पारामा देशमा संघीयता लागू गर्ने, अग्रगमनको कुरा गर्ने, परिवर्तनकारी भनाउने कारणले नेपाली जनता प्रताडित भइरहेको बताउँदै माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन नसक्ने बताएका छन् । उनले हिमाल, पहाड र तराईबीचको ऐक्यभाव तोड्ने प्रयत्न भइरहेको बताउँदै क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य भइरहेको आरोप लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः आज हामी जून माटोमा जन्मिएर कर्म क्षेत्रमा क्रियाशील छौं, त्यो श्रद्धा र आस्थाका धरोहर पूर्खाहरुको वलिदान, अदम्य साहस र रगत पसिनाबाट आर्जित पवित्र भूमि हो । हामीलाई सिंगो, संगठित, अविभाजित, सार्वभौम नेपाल दिएर जाने पूर्खाहरुले सुम्पिएको राष्ट्रलाई जोगाउँदै समृद्ध, समून्नत र सूदृढ बनाउनु हाम्रो मुल दायित्व एवम् कर्तव्य हो । तर वर्तमान अवस्थामा मूल्य–मान्यतामा आधारित राजनीति नहुनु, शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आउनू र आपराधिक कार्यले नेपाली समाज प्रताडीत बनिरहेको छ । दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्म माथि निर्मम प्रहार भइरहेको छ । नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ । आज नेपाली बीचको सामाजिक सद्भाव मेटिदैँ छ भने, तराई, पहाड र हिमाल माझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ । ती सबै कार्य क्रान्तिकारी, परिवर्तनकारी, वलिदानी आदि शव्द भावको दूरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य, अशोभनीय मात्र नभई, असैह्य पनि बनि रहेको छ । निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुन सक्दैनन् । इतिहास कलंकित गर्दै निश्चित, निहित स्वार्थ पुरा गर्न गरिएको कार्यहरु कदापि प्रसंशित हुन सक्दैनन् । माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधूनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन । नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रबासी नै हुन् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवम् त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्ण्ॉता, सहअस्थित्व र पद्धतिसँग जोडिएको यावत विषय नै लौकिक सत्ता हो । दूर्भाग्यवस आजको सन्दर्भमा वाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ । अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन्न मुखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बाँचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ! समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन । श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल । २०७३ साल पौष ६ गते - See more at: http://aajakokhabar.com/news-details/1584/2016-12-21#sthash.Z2MBL7sz.mH8QRcrh.dpuf
कृपया पर्खनुहोस, भिडियो 60 सेकेण्डमा लोड हुदै छ
Loading...

No comments:

Post a Comment